गोरखा, २ चैत : झुक्याएर दोहोरो नागरिकता लिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर–६, बैदाम माइती भई काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ बस्ने २८ बर्षकी पुजा ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।
ढकालले २०६७ मंसीर ८ गते जिल्ला प्रसासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएको र दोस्रो पटक फेरी गाइने सार्कीलाई बाबु बनाएर २०६७ मंसीर २८ गते नै जिल्ला प्रसासन कार्यालय गोरखाबाट नागरिकता बनाइएको देखिन आएको उहाँको भनाई छ । उनले दोस्रो नागरिकता बनाउदा भने पुजा गैरे सुनार उल्लेख गरेर लिइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला प्रसासन कार्यालय गोरखाले दोहोरो नागरिकता लिइएको जानकारी पाएपछि आबश्यक कारवाहीका लागी प्रहरीलाई जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकी ढकाललाई जिल्ला अदालत गोरखाबाट दोहोरो नागरिकता सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आज ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।