गोरखा २५, फागुन । गोरखाको सहिद लखन गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा जिल्लाको दोस्रो पालिका बन्न सफल भएको छ । मुल्याङ्कनमा गोरखा जिल्लाका ९ गाउँपालिका र २ नगरपालिका गरी ११ रहेका स्थानीय तहमा सहिद लखन गाउँपालिका दोस्रो उत्कृष्ठ गाउँपालिका बन्न सफल भएको हो । शहिद लखनले ६३.४६ अंक प्राप्त गरेर दोस्रो भएको गाउँपालिका आयोगले जनाएको छ ।
संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए । यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्ने बोहराले जानकारी दिनुभयो ।
समयमै बजेट पेश गरेरनगरेको, असार मासन्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरेरनगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे नगरेको विषयमा मूल्यांकनका आधारमा नम्बर दिइने गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।
आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । गोरखा जिल्लामा ६० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्नेमा शहिद लखन गाऊँपालिका र पालुङटार नगरपालिका मात्रै रहेका छन् ।
जिल्लाको पालुङटार नगरपालिका ६८.१५ प्रतिशत अङ्क, आरुघाट गाऊँपालिका ५९.५१ प्रतिशत अंक, गोरखा नगरपालिका ५८.६२ सिरानचोक गाऊँपालिका ५८.५६, अजिरकोट ५६.१५ तथा गण्डकी गाऊँपालिका ५५.९१ प्रतिशत अंक प्राप्त गरेका छन् । त्यस्तै वारपाक सुलिकोट गाऊँपालिका ५५.८२, चुमनुब्री गाऊँपालिका ४६.४३, भिमसेन थापा गाऊँँपालिका ४६.४० र धार्चे गाऊँपालिका ४४.९७ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । यस अघि शहिदलखन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो र नेपालभरीमा चौँथो स्थानमा रहेको थियो ।