काठमाण्डौं ७, मंङ्सिर । नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई आफ्नै निवासमा एक्कासी प्रवेश गरेका सादा पोसाकका प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित मंगलबार दिउँसो पूर्वउपाध्यक्ष भण्डारीको घरमा केही महिनाअगाडी डेरा बसी छाडिसकेका व्यक्तिको बारेमा सोधखोज गर्न एक्कासि पुगेका ५ जना सादा पोसाकका प्रहरीलाई के कसो भनी जानकारी लिन खोज्दा प्रहरीले उल्टै उहाँलाई दुर्व्यवहार गरेको महासंघले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
‘कुनै पनि व्यक्तिको घरमा पुगेर सोधखोज गर्दा प्रहरीबाट पदीय जिम्मेवारी वहन गर्दा मर्यादित भई प्रस्तुत हुनु पर्नेमा यस किसिमले दुव्र्यहार गरिनु निन्दनीय र दुःखद् कार्य भन्दै महासंघले घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘महासंघ घटनाको छानबिन गरी दोषी प्रहरीमाथि विभागीय कारबाही गर्न र यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।