काठमाण्डौ, २६ असोज । मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको बस आज दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाईतेलाईलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्ज लगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनुभएको छ । बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताउनुभयो ।
यस्तै धनगढीबाट बाजुरा जाँदै गरेको बस केआईसिंह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।
यस्तै काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । बसका चालक प्रहरीको नियन्त्रणमा छन् भने ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौंका विभिन्न अस्पताल रिफर गरिएको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिनुभएको छ । मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यता आज नै गोरखाको गण्डकी गाउँपालिकामा भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । गण्डकी गाउँपालिकाको बेनिघाटबाट धादिङको माँझिमटार तर्फ जाँदै गरेको बलेरो जीप र्दुघटनमा परेको हो । दुर्घटनमा घाइते भएकाहरु ३ जनाको अबस्था गम्भीर रहेको छ ।