काठमाण्डौं ३, असोज । घुँडाभन्दा तल दुबै खुट्टा नभएका एक बिदेशी पवर्तारोहीले माउन्टेण्ट किलरको रुपमा चिनिने गोरखाको मनास्लु हिमाल आरोहण गर्नुहुने भएको छ । गत वर्ष युरोपकै अग्लो ५ हजार ६४२ मिटर उचाईको एलब्रस हिमाल आरोहण गरिसकेका रुसी आरोही रुस्तम नवियावले मनास्लु हिमाल आरोहण गर्न लाग्नु भएको हो ।
अत्यन्तै जोखिमपूर्ण मानिने ८ हजार १८३ मिटर अग्लो मनास्लु हिमाल आरोणका लागि उहाँले पर्यटन विभागबाट अनुमती लिएर आधार शिविर पुगिसक्नु भएको बिभागले जनाएको छ । यो महिना भित्रै नवियावले मनास्लुको आरोहण गर्ने आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ । शारीरिक रुपमा अशक्त भए पनि नवियावले आरोहणलाई रोजेपछि विश्व कीर्तिमान कायम हुने भएको छ ।
उहाँ दुई जना रुसी गाइड र दुई जना शेर्पा गाइडसहित उनी आरोहणमा गएको टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो । मनास्लु हिमाल आरोहणका लागि तेस्रो क्याम्पसम्म बाटो निर्माण गरिसकेकाले असोजदेखि आरोहण शुरु हुने कम्पनीहरुले जनाएका छन् ।
हिउँद मौसममा आरोहण हुने यस हिमालमा कोरोना महामारीकै वीचमा पनि ठूलो संख्यामा आरोहण हुनेभएको छ । यस महिना १७ आरोहणदलबाट १३३ पुरुष र ३८ महिला गरी १७१ जना आरोहीले आरोहण अनुमति लिईसकेका छन् ।