गोरखा २२, भदौं । गोरखाको गण्डकीमा गाउँ कार्यपालिकाका बहुमत सदस्यहरुले कार्यपालिकाको निर्णय बिपरित गाउँपालिका अध्यक्षले आफ्नो घर पायक पर्ने स्थानमा केन्द्र राख्न खोजेको भन्दै आज प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएका छन् । नेकपा माओबादी केन्द्रका तर्फबाट १० जना गाउँ कार्यापालिका सदस्यले प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेललाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्रमा गाउँपालिकाको केन्द्र भूम्लिचोक बनटारमा कायम गर्न २०७६ बैशाख १ गतेको बसेको कार्यापालिकाको २६ औं बैठकमा बहुमतले निर्णय गरेको भएपनि उक्त निर्णय बिपरित अध्यक्ष होमबहादुर रानाले आफ्नो पायक पर्ने क्षेत्रमा एकल निर्णय गरि केन्द्र राख्ने दुरासाय राखेको उल्लेख गरिएको छ ।
बहुमत कार्यपालिका सदस्यहरुले अध्यक्षको एकल निर्णय प्रति आफुहरुको असहमति रहेको भन्दै निर्णय भएअनुसार बनटारमा नै केन्द्र राख्ने कार्यका लागि आबश्यक प्रक्रिया अगाडी बढाइदिन प्रमुख जिल्ला अधिकारी पौडेलको ध्यानकर्षण गराएका हुन् । ध्यानकर्षण पत्रमा बिबादित बिषयमा कानुन बमोजिम दुई तिहाई प्रक्रियामा अगाढी बढाउनु पर्ने समेत उल्लेख गरेका छन् ।
ध्यानकर्षण पत्र गाउँ कार्यापालिका सदस्यहरु जीवन गुरुङ, रामप्रसाद रेग्मी, तुलसी रेग्मी, गीरबहादुर गुरुङ, मीरा रेग्मी कट्टेल, पहलमान बयलकोटी, लक्ष्मी सुनार, रिममाया थापामगर, मीना सुनार भगवती चेपाङले हस्ताक्षर गर्नुभएको छ । गाउँ कार्यपालिका सदस्य एवं वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङको नेतृत्वमा सदरमुकाममा आएको टोलीले आजै नापी कार्यालय गोरखा र मालपोत कार्यालय गोरखामा पनि ध्यानकर्षण पत्र बुझाएका छन् ।
अध्यक्ष रानाले गाउँपालिकाको केन्द्र निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएपछि कुनै पनि हालतमा बहुमत गाउँकार्यापालिका सदस्यहरुका अध्यक्षको एकलौटी निर्णयलाई स्विकार नगर्ने बताएका छन् । गण्डकी गाउँपालिकामा कुल १६ जना कार्यपालिका सदस्यहरु रहेका छन् ।