गोरखा ९ भदौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गोरखाले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल आयल निगमको ध्यानकर्षण गराएको छ ।
अनेरास्ववियूका जिल्ला संयोजक सुजन सिंखडाको नेतृत्वमा जिल्ला प्रसासन कार्यालयमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल मार्फत आयल निगमको ध्यानकर्षण गराएको हो ।
ध्यानकर्षण पत्रमा कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पिडा दिने निगमले पेट्रोलियम पर्दाथको मूल्य बृद्धि गरेको भन्दै बिरोध जनाएको छ ।
ध्यानकर्षण पत्रमा स्वचालित मूल्य प्रणालीको हवाला दिइएपनि कालोबजारी र चुहावट नियन्त्रण, सङ्कटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नगरी निगमले मूल्य बढाएको ठहर समेत गरेको छ ।
नेपाल आयल निगमले गएरातीदेखि लागू हुने गरि पेट्रोल डिजेल र मट्टीतेलमा प्रति लिटर २/२ रुपैयाका दरले मूल्यबृद्धि गरेको थियो ।