काठमाण्डौं १, भदौं । अमेरिका पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ९ स्थाई घर भई काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ स्थित तिनकुने बस्दै आएका ५९ बर्षिया लाल बहादुर कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका –५ हाङ्गुम घर भएका ३० बर्षका ध्रुव कुमार राईलाई अमेरिका पठाईदिने भन्दै रु ११ लाख ५० हजार रुपैया लिएर फरार भएका थिए ।उनले राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलव हुने जागिर आश्वसन दिएर ठगि गरेका थिए । अमेरिका जान ४० लाख लाग्ने भन्दै कार्कीले राईसंग अग्रिम पैसा लिएको पिडितको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
कार्कीले ठगी गरि फरार रहेको भन्दै वैदेशिक रोजगार विभागबाट प्रहरीलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई सोमबार झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित शान्तिचोकबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका कार्की बिरुद्ध थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।