मोरङ ११, साउन । फुटवल खेल्ने क्रममा भएको विवादको रिसबी साँधेर छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको छुरा प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । आइतबार युवाहरूबीच फुटबल खेल्ने क्रममा भएको झगडालाई लिएर सोमबार दिउँसो उहाँ माथि छुरा प्रहार भएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
चौधरीको ढाँड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएकोमा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका लागि पुर्याए लगत्तै मृत्यु भएको हो । घरमा बसिरहेका बेला ६–७ जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा हानेका हुन् । छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आशङ्कामा १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।