काठमाण्डौं २६, असार । कोरोना संक्रमणको जोखिमका कारण सामाजिक दुरी कायम गर्न भन्दै सरकारले ठाउँठाउँमा निषेधाज्ञा जारी गरेको बेला प्रहरीले एकै दिन ३१ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो २४ घण्टामा भक्तपुर र कास्कीमा जुवामा मस्त भएका ३१ जना जुवाडेलाई पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका–७, नगदेश तथा सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट मात्रै २७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
नगदेशका स्थानीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा खाजा घरका सञ्चालक सहित ११ जनालाई पक्रा गरिएको हो । उनिहरुको साथबाट २ लाख ६४ हजार १ सय रुपैयाँ र ६ बुक तास बरामद गरिएको छ । त्यस्तै शनिबार नै कटुन्जेको गणेश हिलस्थित कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यहाँबाट पनि १ लाख २१ हजार ६ सय रुपैयाँ र ७ बुक तास बरामद भएको छ । यता उता, कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजारस्थित मेघधोज राईको छिन्त्याङ रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा पोखरा–१० का ४८ वर्षीय श्यामकाजी श्रेष्ठ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साथबाट ४८ हजार २ सय ४० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।