गोरखा, २३ जेठ (रासस) : गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवालाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिषरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिदै निषेधाज्ञाका बिच स्वास्थ्य मापदण्डको पालना गरि गुरु गोरखनाथलाई सवालाख रोट अर्पण गरिएको हो ।
गोरखनाथ मन्दिरमा दैनिक रुपमा रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडी बढाउदै आएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोर कुमार अकेलाले जानकारी दिनुभयो । ‘यो बर्ष १८ औ. सवालाख रोट महोत्सव परम्परालाई निरन्तरता दिनका लागि पनि आयोजना गरिएको हो, उहाँले भन्नुभयो, बाहिरबाट भक्तजन आउन नपाउने भएकाले गोरखनाथका मुल पुजारी र सुरक्षाकर्मीले मात्र रोट बनाएर गोरखनाथलाई अर्पण गरिएको छ ।’
गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्र स्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता अनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहदै आएको छ । रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने उहाँले बताउनुभयो । तत्कालिन नेपाल एकीकरणका समयमा सेनाहरूलाई प्रसादको रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने लामो समयसम्म लडाई लड्न सकेको भन्ने भनाई शिला लेखहरूमा पाइन्छ ।
‘एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो, संयोजक अकेलाले भन्नुभयो, ‘चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।’ सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले शुद्व भई मन्त्र जप गरि विचको भाग उठाएर बनाइएको हुन्छ ।
महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासका टेवा पुग्ने गरि हरेक बर्ष केन्द्र महोत्सवको आयोजना गर्दै आएको छ । यसबर्ष भने कोरोना संक्रमणको जोखिमका कारण औपचारिकताका लागि मात्र यही जेठ १२ गतेदेखि ११ दिनसम्म महोत्सवको आयोजना गरिएको संयोजक अकेलाले जानकारी दिनुभयो । अघिल्लो बर्षमा रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्नका लागि भारत लगायतका देशका बिभिन्न भागबाट भक्ताजनहरु आउने गर्दथ्यो ।
महोत्सव अवधिभर गुरु गोरखनाथलाई १ लाख ५४ हजार रोट अर्पण गरिएको उहाँले बताउनुभयो । महोत्सव अवधिभर दैनिक बिहान गुरु गोरखनाथको स्त्रोत पाठ, मन्त्र जप र हवन गरिएको थियो । महोत्सवमा भत्तजन र केन्द्रको करिब १२ लाख खर्च भएको अनुमान गरिएको छ । केन्द्रले रोट महोत्सव बि.स २०६१ सालदेखि निरन्तर सञ्चालनमा आई रहेको छ । परापूर्व कालमा भने शाह बंशका राज परिवारले मात्र गुरु गोरखनाथलाई सवालाख रोट चढाउने परम्परा रही आएको थियो ।