गोरखा ६, जेठ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङमा आज गरिएको २४ जनाको एन्टिजेन परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको महामारी नै फैलिएको बोर्लाङमा नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफनै नेतृत्वमा लिएर गएको स्वास्थ्यकर्मीको टोलीले आज शकास्पद व्यक्तिहरुको एन्टिजेन परीक्षण गराएको हो ।
सो क्रममा एन्टिजेन परीक्षण गराइएका सवैको रिर्पोट नेगेटिभ आएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । गृहजिल्लामा कोरोना संक्रमण भयावह बन्दै गएपछि आफै औषधी र चिकित्सक बोकर नागरिकको घरघरमा पुग्नु भएका प्रवक्ता श्रेष्ठको टोली बिहिबार बोर्लाङ पुगेको हो । परीक्षण गरिएको सतप्रतिसतको रिर्पोट नेगेटिभ आउनुले महामारी फैलिएको बोर्लाङ क्षेत्रमा बिस्तारै कोरोना नियन्त्रण तर्फ गएको अनुभूति भएको टोलीमा संलग्न चिकित्सकको भनाई छ ।
प्रवक्ता श्रेष्ठ गएको ४ दिनदेखि गोरखा जिल्लाका बिभिन्न क्षेत्रमा उच्च जोखिममा रहेका नागरिकहरुको एन्टिजेन परीक्षण, औषधी बितरण तथा संक्रमित व्यक्तिहरुलाई परार्मस दिन जुटी रहनु भएको छ । जिल्लाकोे पालुङटार नगरपालिकाबाट नागरिकहरुको स्वास्थ्य उपचारमा सुरु गर्नुभएको प्रवक्ता श्रेष्ठ सिरानचोक,अजिरकोट, बारपाक सुलिकोट गाउँपालिका, सहिद लखन गाउँपालिका लगायतका क्षेत्रमा पुगिसक्नु भएको छ ।
सो क्रममा पालिकामा रहेका स्वास्थ्यकर्मीहरुले आवश्यक ठानेका नागरिकहरुमा परीक्षण गरिएको हो । परीक्षणसँगै परामर्श दिने र पालिकामा एन्टिजेन किट सहित प्रयोग तरिका सिकाउँदै डाक्टर सहितको टोली गोरखाका नागरिकहरुको जीवनरक्षार्थ काम गरिरहनु भएको छ । यसअघि एन्टिजेन परीक्षणका लागि गोरखा अस्पताल पुग्नु पर्ने र पहुँच हुनेले मात्र उक्त सुविधा पाउने व्यवस्था रहँदै आएको थियो ।