पोखरा २५, बैशाख । राष्ट्रिय जनमेर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही कोरोना संक्रमण मुक्त हुनुभएको छ । संसद्मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि निर्णय हुने दिन एक्कासी हराएर चर्चामा आएका गण्डकी प्रदेश सभा सदस्य शाही कोरोनामुक्त भएको हो । राष्ट्रिय जनमोर्चाका सांसद शाहीको पिसिआर रिपोर्ट नेगेटिभ आएको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
सरकारी ल्याबमा वैशाख १४ को स्वाब कलेक्सन पिसिआर रिपोर्ट नेगेटिभ आए पनि निजी ल्याबको परीक्षणमा पोजेटिभ देखिएपछि उहाँ संसद छली वैशाख १५ मा चरक मेमोरियल अस्पताल पुग्नु भएको थियो । एक सातासम्म अस्पतालको बसाइँपछि डिस्चार्ज भइ नजिकैको होटल सर्नुभएका शाहीको शुक्रबार रिपोर्ट नेगेटिभ आएको हो । भोली उहाँ डेरा फर्किने बताइएको छ ।