दोलखा २५, बैशाख ।दोलखाको सदरमुकामा सदरमुकाम चरिकोटमा रहेको ऐतिहासिक भीमेश्वरको मूर्तिलाई पसिना आएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गुठी र पुजारीको हवाला दिदै मन्दिरको ड्युटीमा तैनाथ सुरक्षाकर्मीले भर्खरै मूर्तिमा पसिना आएको जानकारी गराएका हुन् । गतबर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो । २०५८ सालको दरवार हत्याकाण्ड लगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमेश्वरलाई पसिना आउने गरेको छ ।
भीमेश्वरको मन्दिरमा पसिना आएपछि देशमा केही अनिष्ट हुने बिश्वास गरिन्छ । २०७७ मंसिर पछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन्। गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ। शनिबार मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ। भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १९ औं पटक पसिना आएको जानकारी दिनुभयो।
भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उहाँको भनाई छ । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ। भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा गरेका छन्।