गोरखा, २२ बैशाख । गोरखा जिल्लाका ३ वटा स्थानीय तहहरुमा गएराती १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ । स्थानीय तहहरुको सिफारिसको आधारमा जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गरेको प्र्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो ।
गएको मध्यरातदेखि जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । ‘कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहको सिफारिसका आधारमा केन्द्रको बैठक बसी निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो, उहाँले भन्नुभयो, तत्काल संक्रमणको उच्च जोखिम रहेका स्थानीय तहहरुमा निषेधाज्ञा सुरु भएको छ ।’
आजदेखि निषेधाज्ञा सुरु भएका स्थानीय तहहरुमा बैशाख ३१ गतेसम्म अत्याबश्यक बाहेकका सवारी साधन चलाउन, बजार पसल खोल्न पाइने छैन भने, शिक्षणसंस्था, सरकारी तथा गैह्रसरकारी कार्यालयहरु समेत बन्द हुने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको भीमसेन थापा गाउँपालिकाको वडा नम्बर ७ र ८ मा भने बैशाख १८ गतेदेखि बैशाख २४ गतेसम्मका लागि यसअघि नै निषेधाज्ञा लागू भएको बताउनुभयो ।
जिल्ला पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमणको रोकथाम र न्युनिकरणका लागि निषेधाज्ञा लगाउनु परेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । तत्काल उच्च सर्तकता अपनाई संक्रमण रोकथाम, नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा संञ्चालन एवं ब्यवस्थापन गर्न आवश्यक भएको भन्दै ति स्थानीय तहहरुले डिसिसिएमसीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेका थिए ।
गोरखा जिल्लामा अहिलेसम्म दोस्रो चरणका कोरोना संक्रमण सुरु भएपछि संक्रमितको संख्या १४६ पुगी सकेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ मा एउटै क्षेत्रमा ६४ जनामा संक्रमणको पुष्टी भइसकेको छ ।