दीपक श्रेष्ठ
गोरखा, ६ बैशाख । लम्जुङको मस्याङ्दी गाउँपालिका–९ बहुवाका ८१ बर्षिय बृद्धा नानीराम भण्डारी गएको चैत २५ गते घरबाट छोरीको घर जान भनेर निस्कनुभयो । राम्रोसंग बोल्न नसक्ने नानीराम छोरीको घर बेशीशहर स्थित खुँदीमा त पुग्नुभयो तर छोरीको घरबाट आफ्नो घर भने फर्कन सक्नु भएन । बेशीशहरबाट घर फर्कन निस्कनु भएका उहाँ घर नभई बरु तनुहँको डुम्रेमा पुगेर बसबाट ओर्लनु भएछ । हातमा छाता र लौरोको साहारा बाहेक अन्य केही नभएका उहाँका लागि त्यो भन्दा अरु ठूलो बिपत के नै हुन सक्थ्यो र ।
न त कसैलाई भन्न केही सक्ने, न खल्तीमा पैसा नै, आफुलाई कहाँ आइपुगेँ भन्ने पत्तो समेत थिएन नानीरामलाई । बृद्धाबस्थाका कारण आफ्नो कुरा राम्रोसंग कसैलाई बुझाउन नसक्ने उहाँ डुम्रे पुग्नुभयो । तर घर जानेबाटो भने छुटिसकेको थियो । छोरीको घरबाट आफ्नो घर जान भनि हिड्नु भएका उहाँ राती अबेरसम्म घर पुग्नु भएन । दाजुका छोरा प्रेमबहादुर भण्डारीसंगै बस्दै आउनु भएका नानीराम घर नफर्किएपछि भण्डारी परिवारका सदस्यमा भोक निन्द्रा सवै हराउनु स्वभाविक नै हो ।
बाटो बिराएपछि हराउनु भएका नानीरामको दैनिक झन कति कष्टकर बन्यो होला कल्पनासम्म गर्न पनि गाह्रो हुन्छ । छोरा प्रेमबहादुर भन्नुहुन्छ ‘गोजीमा गाडी भाडाका लागि बुहारीले दिएको १ सय रुपैया बाहेक उहाँसंग अरु केही थिएन, नत मागेर खान सक्ने अबस्थामा हुनुहुन्थ्यो माइला बुबा ।’ माइला बुबाको खोजीका लागि झिसमिसे उज्यालो नहुदै घरबाट निस्किएका प्रेमबहादुर कहाँ पुग्नुभएन ।

बेशीशहर, डुम्रे, दमौली, मुग्लिन मात्र नभएर पोखराका बिभिन्न गल्ली गल्ली र बसपार्कका कुना–कुनामा बुबा भेटिने आशमा उहाँ भौतारिनुभयो तर कतै भेटिनुभएन । न खाने टुङगो छ, न भोक प्यास केही नभनी बुवाको खोजीमा हिड्नुभएका उहाँ बैशाख ४ गते शनिबार निरास भएर फेरि घर फर्किनुभयो । ‘हराएका बुवाको फोटो बसमा टाँसे, शहरका भित्ताभित्तामा टाँसे र लम्जुङ प्रहरीलाई खोजीका लागि निवदेन दिएँ तर बुवा भेटिनु भएन ।’ प्रेमबहादुर भन्नुहुन्छ ।
यता गोरखा सदरमुकाममा चैत २९ गते राती करिब ११ बजे हरमटारी चोकमा एक बृद्ध मध्यरात हुनै लाग्दा एक्लै हिडिरहेको अबस्थामा भेटियो । मध्यरातमा त्यो पनि बोल्न नसक्ने, आफ्ना कुरा राख्न नसक्ने बृद्धलाई डियुटीमा रहेको प्रहरीले सोधपुछ ग¥यो तर केही जबाफ आएन । निरास र थकित अबस्थामा भेटिएका ति बृद्धलाई प्रहरीले उद्धार ग¥यो र मानवसेवा आश्रम गोरखामा संरक्षणका लागि बुझायो ।
घर ठेगाना कहाँ हो, कसरी गोरखा आइपुगे भनेर आफ्नो बारेमा केही भन्न नसक्ने उहाँलाई आश्रमले अभिभावकत्व प्रदान गर्यो । बिहान हुने बित्तिक नुहाई धुवाई गरि सरसफाई गरेर माया ममता परिवारका सदस्य जस्तै गरि राखिएका नानीरामको परिवारको पुर्नमिलनका लागि आश्रमले सवैतिर जानकारी गरायो, आश्रमको फेसबुक पेजमा बृद्धको फोटो राखेर सार्वजनिक ग¥यो । सञ्चारमाध्यमहरु मार्फत समाचार सम्प्रेषण भयो ।
आश्रममा राखिएको करिब ६ दिनसम्म पनि कहिकतै सम्पर्क नभएपछि आश्रमले हेटौडा स्थित आश्रममा संरक्षणका लागि पठाउन तयारी भइरहेका बेला आइतबार बिहान एक्कासी एउटा फोन आयो ‘म प्रेमबहादुर भण्डारी लम्जुङदेखि मेरो बुवा हराएको १० दिनभयो, सामाजिक सञ्जालमा त्यहाँ रहेको भन्ने जानकारी पाएर कल गरेको हुँ ।’ फोन गर्ने प्रेमबहादुर तिनै बृद्धाका भतिजो रहेछन् । उहाँलाई छिमेकी एकजना दाई पर्नेले फेसबुकमा फोटो सहित देखेपछि खबर गरेका रहेछन् । अनि बल्ल पहिचान भयो मध्यरातमा सडकबाट उद्धार गरिएको बृद्ध लम्जुङबाट २५ गते हराएका तिनै नानीराम हो भन्ने ।
परिवारको फोन आएपछि आश्रमकी संयोजक मुना लामालाई अब पुर्नमिलन हुन्छ की भने आशा जाग्यो । सवै सोधखोज गरेपछि दिउँसै हान्निएर प्रेमकुमार गोरखा स्थित मानवसेवा आश्रममा आइपुग्नुभयो । आश्रमको परिषरमा छोराको परिवारको पखाईमा रहनुभएका बृद्धा नानीराम छोरा आइपुगेपछि खुशीले गद्गद हुनुभयो । ‘बुबा मरिसक्नु भयो होला भनेर आश मारि सकेको थिए, तर यहाँ भगवानले उद्धार गरेर संरक्षणमा राखिदिनु भएको रहेछ, खुशीको आँशु झार्दै प्रेमकुमारले भन्नुभयो ।
जिउदो हुनुहुन्न होला भनेर आश गुमाई सकेका बुवालाई भेटेपछि उहाँको आखाँमा आशु किन थामिन्थ्यो र । बाबुछोराले एकले अर्कोलाई हेरीरहे र खुशीको आँशु दुवैले झाँरिरहे । धन्यबाद दिइरहे मानवसेवा आश्रमलाई । आश्रमकी संयोजक लामा पनि उस्तै खुशी हुनुहुन्थ्यो बिछोडिएका एउटा परिबारको पुर्नमिलन गराउन पाउदा । बेसाहारा, अभिभावक बिहिन सडक मानवको उद्धार, हेरचाह र संरक्षणमा सर्मपित उहाँका लागि पनि यो भन्दा ठूलो खुशी अर्को के हुनसक्थ्यो र । पुर्नमिलन हुने भएपछि आश्रममा खुशी छायो ।
छोरालाई भेटेपछि नानीराम पनि घर जान आतुर हुनुहुन्थ्यो कहिले झोला बोक्नु हुन्थ्यो, कहिले लौरो टेकेर हिड्न खोज्नु हुन्थ्यो । घर फर्किन ढिला भइसकेकाले घरी घरी आश्रममा रहेकी सदस्यहरुलाई बिदाईको हात हल्लाउदै उहाँ निस्कनुभयो । आश्रमका सदस्यहरुले पनि नानीरामलाई बिदाइको हल्लाउदै बिदा गरे अनि पुर्नमिलन भयो अन्जानमा बिछोडिएको एउटा परिवारको ।