गोरखा, २३ माघ । गोरखाको गोरखा नगरपालिका–८ आहाले स्थित ससस्त्र प्रहरी बेस क्याम्प नजिकै इको भ्यानको ठक्करबाट शुक्रबार बिहान एक महिलाको ज्यान गएको छ । सदरमुकामबाट ढुङ्गागाडे तर्फ जाँदै गरेको ग १ ज ७४४६ नम्बरको भ्यानको ठक्करबाट ५८ बर्षिय निरमाया थापाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।
दुर्घटनामा परि गम्भीर घाइते हुनुभएकी गोरखा नगरपालिका–८ ढुङ्गागाडेकी थापाको गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गएकोे उहाँले बताउनुभयो । सडकमा धुलाम्मे भएका कारण गाडी आएपछि थापाले एक्कासी बाटो काट्ने क्रममा भ्यानले ठक्कर दिदाँ थापा लडेको र सोही क्रममा भ्यानको चक्काले किचेर ज्यान गएको प्रमुख ढकालले भन्नुभयो ।
दुर्घटना लगत्तै घाइतेलाई तत्काल उपचारका लागि अस्पतालमा पु¥याइएको थियो । ठक्करदिने सवारी र चालक गोरखा नगरपालिका–४ फिनाम घर भएका ४० बर्षका मकबुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।