गोरखा, १६ माघ । विभिन्न स्थानमा चोरी गरेको २ थान मोटरसाईकल सहित बुधबार पक्राउ परेका रमेश भट्टराईलाई गोरखा प्रहरीले सार्वजनिक गरेको छ । २२० सिसी क्षमताको पल्सर मोटरसाईकल सहित लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका १ का भट्टराईलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको हो ।
माघ १२ गते जिल्लाको पालुङटारमा नगरपालिकाको ठाँटीपोखरीमा प्रहरीको चेकिङमा प्रदेश ३–०२–००२ प ६८८६ नम्बरको मोटरसाईकल भट्टराईले कागजपत्र बिना चलाएको पाइएपछि नियन्त्रणमा लिएको र घरबाट कागजपत्र लिएर आउछु भनेर हिडेका थिए । भट्टराईले त्यहाँबाट उम्किएसगै बाटोमा अपरिचितको मोटरसाईकल मागेर धनीसंग आफुले पनि यस्तै मोटरसाईकल किन्न लागेकोले एक पटक टेष्ट ड्राईभ गर्न आग्रह गरि उनि सोही मोटरसाईकल लिएर बेपत्ता भएका थिए ।
भट्टराईलाई प्रहरीले माघ १३ गते सिरानचोक गाउँपालिका ८ को गोपाल डाँडाबाट प्रहरीले चोरी भएको मोटरसाईकल र भट्टराईलाई नियन्त्रणमा लिन सफल भएको गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । पालुङटारको ठाँटीपोखरीमा प्रहरीको चेकिङका क्रममा फेला परेको भट्टराईले चलाएको प्रदेश ३–०२–००२ प ६८८६ नम्बरको मोटरसाईलक भने माघ १० गते गजुरी गाउँपालिका २ को मलेखुबाट चोरी गरी ल्याएको तथ्य खुलेको छ ।