बैतडी, २० पुस । बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत सिगास गाउँपालिका–९ बाँजपानीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धनगढीबाट बझाङ तर्फ गइरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान करिब २ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा बझाङ बित्थडचीर गाउँपालिका– ४ घर भएका ४० बर्षका जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका ५ का ३२ बर्षका नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका ४ का २० बर्षका कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको भनाई छ । फाइल फोटो