गोरखा २९, मङ्सिर । मनकामना मन्दिरसम्म पुग्ने नेपालकै पहिलो केवलकार मनकामना केवलकारपनि आइतबारदेखि सञ्चालनमा आएको छ । लकडाउन पछि पहिलो पटक आधा क्षमतामा मात्र केवलकार सञ्चालन गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । केवलकार चढेर मनकामना पुग्नेहरुका लागि सवस्टेशनमै स्वास्थ्य चेकजाँच गरेर पठाउन सुरु गरिएको सञ्चालनक मध्येका एक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै केबुलकार सञ्चालनमा ल्याएका छौ, उहाँले भन्नुभयो, ‘र १०० डिग्री फरेनहाइट ज्वरो देखिएमा, रुघाखोकीको लक्ष्यण देखिएका कुनै पनि यात्रुलाई केबुलकार यात्रामा प्रतिबन्ध लगाइएको छ ।’ यात्रुले लाइनमा बस्दा भौतिक दुरी, केबुलकार प्रवेश गर्नासाथै स्वचालित ह्याण्ड स्यानिटाइजर वा साबुनपानीले हात धुनुपर्ने ब्यवस्था गरिएको छ ।
साथै भिडभाड गर्न, बनभोज खान समेत मनकामना दर्शन प्रालिले यात्रुलाई प्रतिबन्ध लगाएको छ । केबुलकारमा प्रति घण्टा ६६० जना यात्रुले यात्रा गर्न सक्ने भएता पनि केही समयका लागि ३३० जनाले मात्र यात्रा गर्न पाउने छन् ।
स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएको केबुलकार प्रशासनले आफ्नो कर्मचारीलाई फेस शिल्ड र माक्स जस्ता सुरक्षा सामाग्रीको प्रबन्ध गरेको छ । केवलकार सञ्चालन गरेको पहिलो दिनमै आज १ हजार भन्दा बढीले यात्रा गरेको प्रा.लिले जनाएको छ ।