Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’को डबिङ


1.1K
Shares

प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’को डबिङ

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । अनामनगरस्थित म्युजिक इरा रेकर्डिङ स्टुडियोमा पुगेर उहाँले आफ्नो अभिनयमा स्वर भर्नुभएको छ ।

फिल्ममा उहाँले प्रधानमन्त्रीकै भूमिकामा छोटो अभिनय गर्नुभएको छ । अघिल्लो प्रधानमन्त्रीत्वकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भको कथामा उहाँ फिल्ममा देखिनुभएको छ ।

केही मिनेट लामो दृश्यमा ओलीले एसिड आक्रमणविरुद्ध सरकार प्रमुखको रुपमा प्रतिबद्धता जनाएका छन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो फिल्मको डबिङ गतसाता पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले पनि गरेका थिए ।

ओलीको डबिङसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्म भदौ ७ गते हलमा रिलिज हुने जनाइएको छ । फिल्मले विभिन्न मिति र विभिन्न थलोमा मुलुकमा भएका एसिड आक्रमणको घटनाको कथा भन्छ । वास्तविक एसिड आक्रमणका पीडितले समेत यसमा अभिनय गरेका छन् ।

मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ ।

शिवम् अधिकारीको पटकथा छ । रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुईसय भन्दा बढी प्रहरीले समेत अभिनय गरेका छन् ।

सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि छोटो भूमिका छ । यी दुबै सांसदले डबिङ गरिसकेका छन् । नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology