Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माग्ने बुढाको परिवारै फिल्ममा, पत्नीपछि छोराले ‘होस्टेल ३’बाट डेब्यु गर्ने


1.3K
Shares

माग्ने बुढाको परिवारै फिल्ममा, पत्नीपछि छोराले ‘होस्टेल ३’बाट डेब्यु गर्ने

काठमाडौं, १९ साउन । फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाको प्रदर्शन मिति घोषणा भएको छ । छायांकन सुरु नहुँदै निर्माताले फागुन १६ गते फिल्म आउने जनाएका हुन् ।

सो मितिमा नेपाल र अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुने निर्देशक सशान कँडेलले बताउनुभयो। छायांकन भने भदौ २१ गतेदेखि गर्ने तयारी छ ।

फिल्मको शीर्ष भूमिकामा कन्टेन्ट क्रिएटर पारस बम ‘कुल ब्वाय’, गायक रिहान गिरी, पदम तामाङ र टिकटकर सिम्रन पन्त अनुबन्धित भैसकेका छन् । यो फिल्मबाट एकजना ‘स्टार किड’ले डेब्यु गर्ने पक्का भएको छ ।

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिषले यो फिल्मबाट डेब्यु गर्ने पक्का भएको छ । आशिषले बाल्यकालमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।

घिमिरेकी पत्नी सीतादेवी तिमल्सेनाले पनि ‘सानो संसार’बाट फिल्ममा डेब्यु गर्दैछिन् । यो फिल्म दसैं घटस्थापनामा रिलिज हुँदैछ ।

‘होस्टेल ३’को कुरा गर्दा, यसमा कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिज ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन् । कथानक फिल्म ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।

यो फिल्म चलेका कलाकार जन्माउने श्रृंखलाको रुपमा चिनिन्छ । अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकार पनि डेब्यु गरेका थिए ।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ ।

कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology