Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

६० किलो सुन प्रकरणमा भेटिएन ‘हाई प्रोफाइल’ को संलग्नता


1.5K
Shares

६० किलो सुन प्रकरणमा भेटिएन ‘हाई प्रोफाइल’ को संलग्नता

काठमाडौँ, १७ असार । ६० किलो सुन तस्करी प्रकरणपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धानबाट हाई प्रोफाइल व्यक्तिको संलग्नता नभेटिएको पाइएको छ । सीआईबीको दोस्रो चरणको अनुसन्धानबाट बनेको ५६२ पृष्ठ लामो प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।

२ खर्ब ६६ अर्ब ६७ करोड बिगो दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने रायसहित बुझाइएको प्रतिवेदनको अध्ययनका क्रममा हाई प्रोफाइल व्यक्तिको ‘कनेक्सन’ नभेटिएको बताइएको छ । सीआईबी प्रमुख श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करी प्रकरणमा हाई प्रोफाइल नाम नभेटिएको बताएका हुन् ।

यसअघि कृष्णबहादुर महरा र दिपेस पुन लगायतका हाई प्रोफाइल व्यक्तिको नाम समेत सुन तस्करी प्रकरणमा जोडिएको थियो । तर यही प्रकरणमा नाम नजोडिएको र अर्को भेपमार्फत भएको सुन प्रकरणमा उनीहरूको नाम जोडिएको सीआईबीले बताएको छ । ‘भेपमार्फत भएको तस्करी प्रकरण फरक हो,’ ज्ञवालीले भने(‘यो ६० किलो सुन प्रकरणमा उनीहरूको कनेक्सन अहिलेसम्म भेटिएको छैन ।’

अनुसन्धानका क्रममा संलग्नता देखिएको भए प्रतिवेदनमा नाम जोडिन्थ्यो । तर संलग्नता नपाइएपछि यो प्रकरणमा अहिलेसम्म हाई प्रोफाइल संलग्नता नभेटिएको सीआईबीले तयार पारेको प्रतिवेदनबारे जानकारी दिन आज आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

यद्यपि सीआईबीका अनुसार ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकिइसकेको छैन । यतिबेला दोस्रो चरणको अनुसन्धानबाट देखिएको तथ्यका आधारमा मात्रै प्रतिवेदन बुझाइएको बताइएको छ ।

थप अनुसन्धानका क्रममा हाई प्रोफाइलको नाम जोडिएमा सीआईबीले थप कार्य अघि बढाउने ज्ञवालीले बताए । ‘भेपको अनुसन्धानको पाटो अर्कै छ,’ ज्ञवालीले भने, ‘दीपेश पुन र कृष्णबहादुर महराको नाम भेपमार्फत जोडिएको हो ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology