काठमाडौं, १ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।
बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्ने बताइएको छ ।
न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।
सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो ।
लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । उक्त बहस जारी रहँदा मुद्दा हेर्दाहेर्दै राखिएको छ । बुधबार उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ ।
त्यसपछि लामिछानेको तर्फबाट जवाफ दिइनेछ । उक्त जवाफ आएपछि न्यायाधीशद्वयले फैसला सुनाउनेछन् । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।