गोरखा, २२ कात्तिक । गोरखाको आरुघाट गाऊँपालिका १ मान्बुको वनमा एक पुरुषको शव फेला परेको छ ।
मान्बुको तीनखोपुवा ढुंगास्थित स्थानीय पोत्लबी सामुदायिक वनमा पहिचान खुल्न नसकेका पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रमुख इन्स्पेक्टर रामजी देवकोटाले जानकारी दिनुभयो ।
मंगलवार वनमा शव देखिएको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । अनुहार चिन्ह नसक्ने गरि सडेगलेको अवस्थामा शव फेला परेको र पहिचानको प्रयास भैरहेको उहाँले बताउनुभयो ।
खैरो हाफ टिशर्ट, निलो जिन्स पाइन्ट, कालो नाइक लेखेको चिन्ह भएको खैरो जुत्ता र कम्मरमा अंग्रेजी अक्षर जि लेखेको बेल्ट लगाएको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको उहाँको भनाई छ ।
शव पोष्टमार्टमका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको छ । शवको आजै पोष्टमार्टम हुने पनि प्रहरीले जानकारी दिएको छ ।
मृतकको सनाखतका लागि हुलिया सहितको विवरण प्रहरी कार्यालयहरुमा पठाइएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ ।