गोरखा, १६ कात्तिक । गोरखा अस्पतालका डाक्टर कुटपि टघटनामा संलग्न आरोपीहरुलाई कडा कारबाही गर्न अस्पताल टोल बिकास समितीले माग गरेको छ ।
अस्पताल टोलबिकास समितीले आज (बुधबार) जिल्ला प्रशासन कार्यालय गोरखालाई बिज्ञप्ती बुझाउदै डाक्टर अविनाश पराजुलीमाथी कुटपिट गर्नेलाई सख्त कारबाहीको माग गरेको हो । गत कात्तिक ६ गते आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर पराजुलीमाथि आफ्नै कार्यकक्षमा कुटपिट भएको थियो ।
‘उक्त घटना प्रति गम्भिर ध्यानाकर्षण भएको स्मरण गराउँदै स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर बनाउने र अस्पतालमा बिमारीको स्वास्थ्य परिक्षणमा बाधा व्यबधान उत्पन्न गर्ने व्यक्तिहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को पहिलो संसोधन अध्यादेश अनुरुप दोसी उपर सखत कारबाही होस्’ समितीको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता मङ्गलवारदेखी सहकर्मी कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै अस्पतालका स्वास्थयकर्मीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेको छन् । डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षका समीर कुवँर, सोही ठाउँका १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका ३ का २६ वर्षका प्रमोदजंग कुवँर रहेका छन् ।
