गोरखा, २९ असोज (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भुकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अबलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उमेद्वारका समेत रहनु भएका उहाँले आज बिहान दरबार अबलोकन गर्नुभएको हो ।

गोरखा दरबारको अबलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक बिरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोडदिनु पर्ने बताउनुभयो । पर्यटन क्षेत्रको बिकास मार्फत जिल्लाकोे आर्थिक सम्बृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उहाँले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसावले महत्वपूर्ण जिल्ला भएको बताउनुभयो ।

उहाँले गोरखाको इतिहासले देशको गरिमालाई उचो पारेको समेत बताउनुभयो । दरबार अबलोकनका क्रममा गोरखा दरबार संग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको इतिहास महत्व लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्ड सहित बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश), सचिव हितराज पाण्डे लगायतका नेताहरु गोरखा दरबार पुगेका थिए । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा रहनु भएको छ ।
उहाँले जिल्लामा सत्तागठबन्धनका दलका नेता, उद्योगी व्यवसायी लगायतसंगको छलफललाई तिव्र पार्नुभएको छ ।