गोरखा, ११ असोज । उत्तरी गोरखाको मनास्लु हिमाल स्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिम पहिरोमा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरामा परेका १३ जनामध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
हिजो ४ जना घाइतेको उद्धार गरिएको भएपनि बाँकी रहेका थप ८ जनाको आज उद्धार गरिएको हो । सकुशल उद्धार गरिएकाहरुमा सोलुखुम्बु जिल्ला घर भएका ३५ बर्षका किनु पेम्वा, २९ बर्षका फुर्ते शेर्पा, संखुवासभा जिल्ला घर भएका २७ बर्षका सुकमान तामाङ, निमा शेर्पा, ४० बर्षका निमादोर्जे शेर्पा र २५ बर्षका दावा शेर्पा रहनु उहाँले बताउनुभयो ।
त्यस्तै दोलखा जिल्ला घर भएका ४० बर्षिय फुरिता शेर्पा, ३७ बर्षका लाक्पा तामाङ र ४४ बर्षका जितबहादुर शेर्पाको पनि सकुशल उद्वार गरिएको डिएसपी लामिछानेले जानकारी दिनुभयो । आज उद्धार गरिएका मध्ये ४० बर्षिय निमा दोर्जे शेर्पाको अबस्था भने गम्भीर रहेको उहाँले बताउनुभयो । घाइते सवैलाई उद्धारपछि हेलिकप्टर मार्फत उपचारका लागी काठमाण्डौ पठाई सकिएको डिएसपी लामिछानेको भनाई छ ।
हिम पहिरामा परेका अन्य ३ जनाको अबस्था भने सामान्य रहेकाले उनिहरु आधार शिविरमा आएपछि पुनः काममा फर्किएका डिएसपी लामिछानेले जानकारी दिनुभयो । उहाँले पहिरामा परी ज्यान गुमाएका संखुवासभा जिल्ला घर भएका अनुप राईको शव निकालेर सामागाँउ ल्याएको बताउनुभयो ।
बिभिन्न ४ एजेन्सीबाट गएका उनिहरु सोमबार हिमपहिरामा परेका थिए । प्रहरीका अनुसार इमेजिङ एक्सप्रेसनबाट गएका ५ जना, सेभेन समिटका गएका ३ जना, एचके एक्सप्रेसनबाट गएका २ जना र चितवन एड्भेन्चरबाट गएका ३ जना हिम पहिरामा परेका हुन् ।