गोरखा, १० असोज । उत्तरी गोरखाको मनास्लु हिमालमा हिमपहिरो परी ५ जना घाइते भएका छन् । आज बिहान गएको हिमपहिरोमा परी स्थानीय शेर्पा समुदायका व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो । मौसम खराबीका कारण घाइतेहरुको उद्धारमा कठिनाई भइरहेको उहाँले बताउनुभयो ।
‘कैलास एयरले मनास्लु हिमालको तेस्रो बेसक्याम्पमा पहिरोमा परी ५ जना स्थानीय शेर्पा समुदायका व्यक्तिहरु घाइते भएकाले उद्धारका लागि अपिल सहित जानकारी आएको छ, उहाँले भन्नुभयो, एभरेष्ट एयरको एउटा हेलिकप्टर हिजो सामागाउँमै बसेको थियो, ‘उक्त हेलिकप्टर घाइतेको उद्धार गर्न तीन नम्बर बेसका लागी उडेको भएपनि मौसमको खराबीले गर्दा ल्याण्ड गर्न नसकेपछि अहिले सामागाउँमै फर्किएको छ ।’
हिम पहिरोमा परेर दावा शेर्पा, पुरित शेर्पा, निङमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जितबहादुर शेर्पा घाईते प्रारम्भिक विवरणमा खुलेको छ । प्रहरीले घाईतेको नाम कैलास एयर मार्फत प्राप्त गरेको हो । डिएसपी लामिछानेले काठमाण्डौबाट बिहान कैलास एयरको दुईवटा हेलिकप्टर आएर मनास्लु हिमालको तेस्रो बेस क्याम्प तर्फ गएको भएपनि फर्किएर नआएकाले थप जानकारी प्राप्त हुन नसकेको बताउनुभयो ।
‘एक नम्बर बेस क्याम्पसम्म पनि जान सक्ने अबस्था छैन, उहाँले भन्नुभयो, ‘तीन नम्बर बेस क्याम्प त भण्डै ७ हजार ३ सय मिटर माथी हो, ‘त्यहाँ गएको कैलास एयरको हेलिकप्टर फर्किएपछि थप सूचना प्राप्त हुन्छ ।’ सामागाउँको क्याम्पमा रहेको प्रहरीसंग घटनाको बिस्तृत लिने प्रयास भइरहेको डिएसपी लामिछानेको भनाई छ ।
मनास्लु आरोहणका लागि यो बर्षको यो सिजनमा मात्रै ३८ वटा समूहले अनुमती लिएका थिए । माउन्टेन किलरको रुपमा चिनिने गोरखाको मनास्लु हिमाल आरोण सवैभन्दा जोखिम पूर्ण मानिन्छ ।