गोरखा, २ असोज । गोरखा नगरपालिकाको फोहोर व्यवस्थापनको गर्दै आएको क्लिन गोरखाले डम्पिङ साइडमा जाने बाटोमा पहिरो गएका कारण फोहोर लैजान समस्या भएको बताएको छ । क्लिन गोरखाले आज पत्रकार सम्मलेनको आयोजना गरी फोहोर फ्याँक्नका लागी लैजाने सडकमा गएको पहिरोका कारण ट्रयाक्टर तथा टिप्पर ओहरदोहर गर्न नसक्ने अबस्था रहेकाले नगरपालिका क्षेत्रको फोहोर उठाउन नसकिएको बताएको छ । भदौ महिनामा झण्डै २५ दिन फोहोर उठ्न नसकेको गोरखाले नगरपालिका भित्र गएको एकहप्तादेखि फोहोर उठ्न सुरु भएपनि फेरी रोकिएको हो ।
‘बर्खाका बेला कच्ची सडक भएकाले सवारी चल्न सक्ने अबस्था छैन, क्लिन गोेरखा सञ्चालक मध्येका एक दिपेन्द्र श्रेष्ठले भन्नुभयो, ७ दिन अघिदेखि नियमित फोहोर उठाउने काम सुरु गरेको भएपनि पुन हिजोदेखि फोहोर फ्याँक्नका लागी लैजान सक्ने अबस्था छैन ।’ उहाँले नगरपालिकाले सडक मर्मत नगरेसम्म फोहोर उठाउन सक्ने अबस्था नरहेको बताउनुभयो । फोहोर नियमित उठाउन समस्या हुदा शुल्क नियमित उठाउन पनि समस्या भएको श्रेष्ठले जानकारी दिनुभयो ।‘बाटोको समस्याका कारण फोहोर उठ्न नसक्ने अबस्था आएपछि सेवाग्राहीले शुल्क तिर्न मान्दैन, उहाँले भन्नुभयो, त्यसो गर्दा कर्मचारी र कार्यालय सञ्चालन खर्च समेत ऋण खोजेर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।’ उहाँले भौगोलिक कारणले वडा नम्बर १३ लगायतका केही वडामा फोहोर संकलन गर्न जाँदा पेट्रोलियम खर्च समेत बढी हुने भएकाले नगरपालिकाले त्यसका लागि ति क्षेत्रमा छुट्टै डम्पिङ साइडको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
‘अहिले पेट्रोलियम पर्दाथको मूल्य अत्याधिक बढेको छ, उहाँले भन्नुभयो, नगरपालिकासंग कम्पनीले सम्झौता गर्दाको बखत ९८ रुपैया भएको तेलको मूल्य अहिले झण्डै दोब्बर भएको छ, श्रेष्ठले भन्नुभयो, अब नगरपालिकाले पेट्रोलियम पर्दाथमा केही अनुदानको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो भनाई छ ।’ आफुहरुले फोहोर व्यवस्थापनमा आएका समस्या समाधानका लागी नगर कार्यपालिकासंगको बैठक तथा नगरप्रमुखसंग पनि पटकपटक छलफल गरेको भएपनि समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो ।
‘फोहोर व्यवस्थापनमा नगरप्रमुख, उपप्रमुख प्रशासकिय अधिकृत निकै सकारात्मक हुनुहुन्छ तर पनि व्यवस्थापनका लागि काम हुन सकेको छैन, सञ्चालक श्रेष्ठले भन्नुभयो, केही वडाका वडाध्यक्षहरु सवै जिम्मेवारी क्लिन गोरखाको भएजस्तो गर्नुहुन्छ, यो नगरपालिकाको पनि समस्या हो भनेर बुझ्न पर्छ ।’ सञ्चालक श्रेष्ठले अस्पताल, होटल लगायतका धेरै फोहोर उत्पादन हुने क्षेत्रमा अहिले तोकिएको शुल्क बृद्धि गर्नुपर्ने अबस्था रहेको समेत बताउनुभयो ।
यातायात व्यवसायीहरुले समेत कम्पनीलाई तिर्नुपर्ने शुल्क तिर्न अटेरी गरेको भन्दै शुल्क उठाउने बिषयमा नगरपालिकाले पनि भूमिका खेल्दिनु पर्ने उहाँको भनाई छ । क्लिन गोरखाले अहिले सेवाग्राहीहरुसंग न्युनतम १ सयदेखि २ हजार रुपैयामा फोहोरको शुल्क उठाउदै आएको छ । गोरखा नगरपालिकासंग बि.स २०७८ असोजमा नगरपालिका क्षेत्रको फोहोर उठाउने गरी सम्झौता गरी कात्तिकदेखि काम सुरु गरेको थियो । कम्पनीले फोहोरलाई मोहरमा बदल्ने योजना सहित काम सुरु गरेको भएपनि अहिलेसम्म प्रशोसन लगायतका काम गर्न नसक्दा नाफामा जान नसकेको उहाँले जानकारी दिनुभयो ।
‘फोहोरलाई मोहरमा बदल्ने भन्ने योजना त हो, सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘तर सकिएको छैन, सेनेटरी प्याड बनाउने, प्लास्टिकको टुक्रा उत्पादन गर्ने योजना छ तर काम सुरु गर्न सकेको छैन ।’ क्लिन गोरखाले अहिले २२ जना कर्मचारी राखेर गोरखा नगरपालिका वडा नम्बर १, २, ३ र १४ बाहेकका वडाहरुबाट नियमित रुपमा फोहोर संकलन गरी रहेको उहाँले दावी गर्नुभयो ।