गोरखा, १५ भदौ : गोरखा जिल्ला भित्रका ३ पालिकाका व्यवसायिक कृषकहरुले सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयादेखि ५ करोड रुपैयासम्म व्यवसायिक ऋण पाउने भएका छन् । कृषि पेशा मार्फत कृषकहरुलाई उद्यमशिल, स्वरोजगार र आत्मानिर्र्भंर बनाउनका लागी गोरखा नगरपालिका, भीमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकाले राष्ट्रिय बाणिज्य बैंक लिमिटेडसंग सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने गरी आज सम्झौता गरेसंगै अब यि पालिका भित्रका कृषकहरुले सजिलै ऋण पाउने भएका हुन् ।
सम्झौता अनुसार पालिकाले सिफारिस गरेका कृषि सहकार्य समुह, कृषि उद्यमी, फर्म, कम्पनी तथा सहकारी संस्थाहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । बैकले नेपाल सरकारको सहुलियतपूर्ण कर्जाको लागी व्याज अनुदान सम्बन्धी एकिकृत कार्यबिधि अनुसार महिला कृषि उद्यमीहरुलाई ३.५ प्रतिसत र पुरुष कृषि उद्यमीहरुलाई ४ प्रतिसत व्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमती भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

सहुलियत ऋणका लागि बैंकसंग सम्झौता भएका पालिकाहरुले व्यक्ति वा कम्तीमा ५÷५ जनाको समुह, सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीलाई मात्र कर्जाका लागि सिफारिस गर्नेछ । त्यस्तै ऋण प्राप्त गरेका व्यवसायीहरुका लागि कृषि उत्पादन बृद्धिका लागि आबश्यक पर्ने पूर्वाधार, सिञ्चाई, मल, बीऊ ढुवानी, बजार व्यवस्थापन, भण्डारण गृह निर्माण र प्राबिधिक ज्ञान पालिकाले उपलब्ध गराउने सहमति समेत भएको उहाँले बताउनुभयो ।
समयमा किस्ता नबुझाउने ऋणीहरुलाई पालिकाहरुले प्रदान गर्ने सेवासुबिधामा रोक लगाई ऋण असुलीमा बैंकलाई सहयोग गर्ने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ । सहुलियत ऋण तिनका लागि उद्यमशिलता सम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । सहुलियत ऋण प्राप्त गरेका ऋणिहरुले समयमा किस्ता रकम तथा ब्याज नबुझाएमा सम्बन्धित पालिकाले उक्त रकम तिर्नका लागि आबश्यक सहयोग गर्ने गरी सहमति भएको अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।

त्यस्तै सहुलियतमा कर्जा उपलब्ध गराएका ऋणीहरुको व्यवसायको अनुगमनका लागि पालिका प्रमुखको संयोजकत्वमा ६ सदस्सीय अनुमगन समिति समेत गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो । कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप, बिपत लगायतका अन्य घटनाहरुका कारण क्षति भई ऋणीहरुले ऋण तिर्न नसक्ने अबस्थामा ऋण तिर्नका लागी सहयोग गर्न सम्बन्धित पालिकाले जोखिम न्युनिकरण कोष स्थापना गर्ने पनि सहमतीमा उल्लेख छ ।
सहुलियत कर्जा मार्फत किसानहरुको क्षमता बिकास गरी सक्षम र सवल बनाउने तथा लक्षित कार्यक्रम कार्यान्वयनले गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्ने आफुले बिश्वास लिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टको भनाई छ । ‘बैदेशिक रोजगारीबाट सिप अनुभवन र धेरथोर पुँजी समेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुनः बिदेििशुन पर्ने बाध्यताबाट रोक्नु पनि कार्यक्रमको उद्देस्य हो, उहाँले भन्नुभयो, ‘यसबाट युवाहरुलाई उद्यमशिलतासंग जोडेर बिदेशबाट आर्थिक सिप अनुभव र पुँजी स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बनाउन सकिन्छ ।’

उहाँले यो सम्झौताले बास्तविक किसानलाई व्यवसायिक बन्न र कृषि पेशालाई व्यवसायिक र स्वरोजगार मूलक बनाउनका लागि समेत मद्दत पुग्ने बताउनुभयो ।