गोरखा, १९ साउन । गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । गएको विहिबार आएको भीषणबाढीले बगाएको छुलेगाउँ र निलेगाउँ जोड्ने काठेपुल बगाएपछि गाउँपालिकाको पहलमा स्थानीयबासीले मिलेर काठेपुल मर्मत गरि सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।
‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँ बिच सम्पर्क नै बिच्छेद भएको थियो, उहाँले भन्नुभयो, गाउँपालिकाले आबश्यक समन्वय गरेपछि स्थानीयबासीहरुले आफैले आवश्यक सामाग्री जुटाएर मर्मत सम्हार गरेर पुल सञ्चालनमा ल्याएका हुन् ।’
दैनिक रुपमा मेलापर्मका लागि ओहोर दोहोर गर्नुपर्ने छुले र निलेगाउँका स्थानीय बासिन्दाहरु पुल खोलाले बगाएपछि वारी पुगेका वारी र पारी पुगेकाहरु पारी नै रोकिएका थिए । स्थानीबासीले झण्डै ३ दिनपछि आवाज जावत गर्न सक्ने पुल सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
सडक सञ्जालको पहुँच नपुगेको चुमुनब्री गाउँपालिकामा अधिकासं खोलामा काठेपुल निर्माण गरेर आवातजावत गर्नुपर्ने बाध्यता छ । बर्खा लागेसंगै खोलाले काठेपुल बगाउने गरेका हरेक बर्ष यहाँका नागरिकहरुले आउजाउमा हैरानी खेप्दै आउनु परेको उहाँले बताउनुभयो ।
गहुँ काट्ने सिजनमा पुल बगाएपछि समस्या भएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । छुले पारि गाउँ र छुले वारि गाउँको सम्पर्क नै टुटेको थियो ।