गोरखा, १२ साउन । नेपाल रेडक्रस सोसाईटी बुङकोट उप—शाखाद्धारा स्थानीय सरोकारवालाका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला शाखा गोरखाको आयोजना तथा बुङ्गकोट उपशाखाको आतिथ्यतामा आज बिहीबार शहिद लखन गाउँपालिका वडा नं. ८, बुङ्गकोट स्थित रामेश्वरी माद्यमिक विद्यालयको सभाहलमा स्थानीय सरोकारवालाहरुका लागि बिपद ब्यबस्थापन,मनोसामाजिक परामर्श तथा आत्महत्या रोकथाम र लैङ्गिक समाबेशिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा विभिन्न सरोकारवाला निकायका व्यक्तित्वहरु, स्थानीय जनप्रतिनिधी, वडा भित्रका सामुदायिक बिद्यालयका अध्यक्ष, प्रध्यानध्यापकहरु,स्वास्थ्य संस्थाका प्रमुखहरु, महिला स्वास्थ स्वयमसेविकाहरु, बुङ्गकोट उपशाखाका कार्यसमितिका पदाधिकारीहरु र बिद्यालयका बिद्यार्थीहरु गरी ११० जनाको सहभागीता रहेको गाँउ कार्यपालिकाका सदस्य बिमला ढुङ्गना अंगाईले जानकारी दिनुभयो। कार्यक्रममा प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले सहभागीहरुलाई आत्महत्या रोकथाम र लैङिक समाबेशीकरण सम्बिन्ध प्रशिक्षण दिनु भएको थियो ।
बुङ्गकोट उपशाखाका सभापति ईन्द्रराज ढकालको सभापतित्व तथा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबू थापामगरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शाखाका मन्त्री भिमसेन काजि बानियाँ, जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख शंकरहरि आचार्य, गोरखा नगरपालिकाका उपप्रमुख मसलिमाया थोकर, राष्ट्रिय अनुसन्धान कार्यालय गोरखाका उपनिर्देशक सुदिप अधिकारी, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनाल र वडा नं. ८ का अध्यक्ष बासुदेव ढकालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी बुङ्गकोट उपशाखाका सचिव राजेश श्रेष्ठले सहजिकरण गर्नु भएको थियो।