काठमाडौं, १० साउन । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको हो।
बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसरी भिडियो बनाएर अपलोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार कावासोती नवलपरासीबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिनुभयो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।