गोरखा, १९ असार । गोरखामा सफा, सुरक्षित र सभ्य यातायात क्षेत्रको निर्माणका लागि सरोकारवाहरुको बैठक आज सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको बैठकले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्रको निर्माणका लागि गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले निर्धारण बुदाँहरु मध्ये तत्काल कार्यान्वयन गर्नु सकिने बिषयलाई तत्काल कार्यान्वयमा लैजाने र नसकिने बिषयलाई बिस्तारै कार्यान्वयनमा लैजाने सहमति भएको छ ।
बैठकमा सडकहरुमा ग्रीन बेल्ट बिकास गर्ने, बिद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने, सवारी साधानबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने, दैनिक सडकको सरसफाई गर्ने यान्त्रिक कुचोको माध्यमबाट सफा गरि सडक धुलो नउड्ने अबस्था सिर्जना गर्नुपर्ने लगायतका बिषयमा छलफल भएको हो । त्यस्तै जिल्ला भित्र प्रदुषण फैलाउने सवारी साधनहरु बिस्थापन, सवारी साधान भित्र समेत कुहिने र नकुहिने फोहोरका लागि फरक फरक डस्टबिनको व्यवस्था गर्नुपर्ने बिषयमा सरोकारवालाहरु बिच छलफल भएको हो ।
बैठकमा सुरक्षाका सवालमा सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाउने, ट्राफिक व्यवस्थापनका सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक सवारी साधनमा जिपिएस जडान गर्ने, नियमित खाल्डाखुल्डी पुर्नुपर्ने सडक पूर्वाधारको मर्मत कार्य समयमै गर्नुपर्ने, ट्राफिक चिन्ह्र तथा लाइटको नियमित मर्मत संम्हार गर्नुपर्ने निर्णय भएको छ ।
बैठकमा फुटपाथमा व्यापार गर्ने, अन्य पूर्वाधार बिकास गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने, सवारी चालकहरुले ट्राफिक नियम उल्लधन हुन नदिन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, जथाभावी हर्न बजाउनेलाई कारवाही गर्ने निर्णय भएको छ । यस्ता निर्णयलाई तत्काल नै कार्यान्वयनमा लैजाने बैठकले निर्णय गरेको छ ।