गोरखा, ११ असार । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ४ छोप्राकका कृषकहरुलाई बाख्रा पालन सम्बन्धि ३ दिने स्थलगत तालिम प्रदान गरिएको छ । अति विपन्न तथा गरिब वर्गलाई लक्षित गरी ९० प्रतिशत अनुदानमा बंगुर र बाख्राको पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जनाएको छ ।
तालिममा कुल ४१ जना कृषकहरु लाभान्वित भएको कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताउनु भयो। उहाँका अनुसार ३२ जनालाई दुई वटाका दरले बाख्राका पाठापाठी वितरण गरिएको र नौ जनालाई एकरएक वटा बंगुरको पाठापाठी दिएको जानकारी दिनुभयो ।
उनीहरुलाई बाख्रा र बंगुर पालनसँगै आयआर्जन बढाउने सम्बन्धि तालिम दिइएको उहाँको भनाई छ । ‘विपन्न वर्गको जिविकोपार्जनमा सुधार गर्ने कार्यक्रमको उदेश्य हो, उहाँले भन्नुभयो ‘त्यही अनुसार हामीले वस्ती छनोट गरेर कार्यक्रम संचालन गरेका हौ ।’
समुदाय छनोटका लागी कार्यालय प्रमुखको संयोजकत्वमा सात सदस्यीय समिति समेत रहेको उहाँले बताउनु भयो । आरुघाट गाउँपालिकाको वडा नम्वर ४ र भीमसेन थापा गाउँपालिकाको वडा नम्वर ६ मा पनि उक्त कार्यक्रम संचालन गरिने कार्यालयले जनाएको छ ।