गोरखा, ६ असार । गोरखाको भिमसेन थापा गाँउपालिका—७ बोर्लाङका किसानलाई धान खेती सम्बन्धि एक दिने स्थलगत तालिम दिइएको छ ।
कृषि ज्ञान केन्द्र गोरखाको आयोजना तथा नमुना तरकारी खेती कृषक समूह पिपलटारको समन्वयमा आज दिएको स्थलगत तालिममा २५ जनाको सहभागिता रहेको थियो । नमुना तरकारी खेती कृषक समूहका अध्यक्ष डिल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको तालिमा बालि संरक्षण अधिकृत बासु पौडेल, बागवानी प्रा.स सुनिता महतो र माटो विज्ञन प्रा.स समिक्ष गौतमले प्रशिक्षण गर्नु भएको थियो ।

तालिममा धानको बिउ छनोट, ब्याड राख्ने तरिका, जग्गाको तयारीदेखी लिएर धान थन्काउने सम्मको प्रक्रिया बारे जानकारी गराएको छ । यसैगरी धानमा लाग्ने रोग, किराको नियन्त्रण, भण्डारण तरिकासहित गोठे मल तयार पर्नेे बारे पनि जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
धानबालीमा लाग्ने रोग किराको बारेमा जानकारी प्राप्त गर्न साथै त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे पूर्व तयारी गर्न यो तालिमको आयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।

साथै कृषि ज्ञान केन्द्रले तालिममा सहभागी सबै किसानलाई प्रति व्यक्ति १६ लिटरको एक थान स्प्रे, माटोमा प्रयोग गर्ने जिक १ किलो, कारटप १ किलो र १०० एम.एलको झार मार्ने विषधी रोजर समेत वितरण गरिएको जनाएको छ ।