गोरखा, ६ असार : गोरखामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रमा कार्यरत प्राबिधिक रामकुमार लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिनुभयो ।
हुकिङ गरी चोरी गरिएको बिद्युत लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई एक्कासी करेन्ट लागेको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले जानकारी दिनुभयो । ताप्लेजुङ स्थायी घर भएका लिम्बुलाई करेन्ट लागेपछि भुई खसेको उहाँको भनाई छ ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रमुख न्यौपानले बताउनुभयो । मृृतक लिम्बु प्राधिकरण गोरखा बितरण केन्द्रमा ज्यालादारी प्राबिधिकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।