गोरखा, १९ जेठ । बैंकिङ कसूर मुद्दाका फरार गोरखाकी एक महिला काठमाडौंको बानेश्वरबाट पक्राउ परेको छ । काठमाडौं नार्गाजुन नगरपालिका—१ रानीवन बस्दै आएकी पालुङटार नगरपालिका २ की ५१ वर्षीया लक्ष्मी सापकोटालाई नेपाल प्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले मंगलबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुष २ गतेको फैसलाले ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी सापकोटालाई पक्राउ गरिएको नेपाल प्रहरीको वेभसाईटमा उल्लेख छ ।
सापकोटाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतिदेवी शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको नेपाल प्रहरीले जनाएको छ ।