Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

विमान दुर्घटनमा परी गोरखाका एकै परिवारका चार जनाको मृत्यु, तीनमाने गाँउ शोकमा


6.4K
Shares

विमान दुर्घटनमा परी गोरखाका एकै परिवारका चार जनाको मृत्यु, तीनमाने गाँउ शोकमा

गोरखा, १६ जेठ । गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनमा परेर मृत्यु भएको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन थियो।

सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

शहिद लखन गाउँपालिका ५ ताक्लुङको तीनमाने भञ्ज्याङ घर भएका ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उहाँकी श्रीमति ४८ वर्षकी रश्मी, जेठी छोरी २३ वर्षकी रोजिना र कान्छी छोरी २० वर्षकी रविनाको मृत्यु भएको हो ।

सुरक्षा निकायले उनीहरुको मृत्युको औपचारिक पुष्टि गरिसकेको छैन तर विमानमा यात्रा गरिरहेका कोही पनि जीवित नरहेको जानकारी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

काठमाण्डौंमा सूचना प्रविधि सम्बन्धी सामग्रीको ब्यवसाय गर्दै आउनु भएका श्रेष्ठ तारा एयरको सो विमानमा परिवार सहित जोमसोम जान लाग्नुभएको थियो । शहिद लखन ५ को तीनमाने घर भएका श्रेष्ठ परिवार हाल काठमाण्डौंमा बस्दै आएका थिए । छोरा रोशन सहित दुबै छोरी अध्ययनका लागि अमेरिकामा थिए ।

छोरीहरु बैशाख ३० गते नेपाल आएको तीनमानेस्थित श्रेष्ठका छिमेकी बिजय पुडासैनीले बताउनुभयो । जेठी छोरी स्नातकोत्तर र विद्यावारिधी अध्ययनका लागि ५ वर्षदेखि अमेरिकामा थिइन् भने कान्छी छोरी रविना नेपालमा एलेभलको अध्ययन सकेर थप अध्ययनका लागि गत वर्षको भदौमा अमेरिका गएकी थिइन् ।

स्थानीय चुनावमा भोट हाल्न आउनेबार कुरा हुँदा छोरीहरु दुई हप्ताको लागि नेपाल आउन लागेकाले मतदानमा आउन नसक्ने बताउनुभएको रहेछ पुडासैनीले भन्नुभयो, सम्भव भएसम्म परिवार सहित आउँछु भन्नुभएको थियो ।

ब्यवसायिक कामले काठमाण्डौं बस्दै आएपनि गाऊँघरमा हुने विकास निर्माण लगायतका काममा उहाँले सहयोग गर्दै आएको तीनमानेस्थित श्रेष्ठ परिवारका छिमेकीहरुले बताएका छन् । स्थानीय जलदेवी माध्यमिक विद्यालयमा उहाँको एकल सहयोगमा कम्प्युटर ल्याव स्थापना भएको छ ।

यस्तै ताक्लुङकै चन्द्रकला प्रावि र दूर्गा प्राविका लागि पनि उहाँले विभिन्न सहयोग उपलब्ध गराउनुभएको श्रेष्ठका आफन्त केशर श्रेष्ठले बताउनुभयो । उहाँले काठमाण्डौं र गोरखामा बराबरी बस्छु भन्ने योजना बनाउनु भएको  पुडासैनीले बताउनु भयो । उहाँले भूकम्पले पुरानो घर भत्किएपछि नयाँ घर बनाउन थाल्नुभएको थियो ।

आइतवार बिहानदेखि हराएको विमानमा बुबा, आमा र दुई बहिनी समेत यात्रा गरिरहेको खबर पाए लगत्तै अमेरिकामै रहेका छोरा रोशन श्रेष्ठ नेपाल आउने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

आफ्नो गाऊँका एकै परिवारका ४ जनाको मृत्यु भएपछि तीनमाने भञ्ज्याङ गाऊँ शोकमा डुबेको छ । आइतवार बिहान विमान हराएको र त्यसमा गणेशनारायण श्रेष्ठको परिवारका ४ जनाले पनि यात्रा गरिरहेको खबर पाए लगत्तै छिमेकीहरु नियमित काममा लाग्न नसकेको वडाध्यक्ष यमबहादुर रानाले बताउनुभयो ।

छिमेकीहरु पसल ब्यवसाय बन्द गरेर बसेका छन् । गाऊँपालिका अध्यक्ष रमेश थापामगर, वडाध्यक्ष राना, गणेशनारायणका आफन्त केशर श्रेष्ठ, छिमेकी विजय पुडासैनी जहाज दुर्घटनाबारे बुझ्न आइतवार दिउँसो पोखरा पुग्नुभएको थियो ।

सोमवार बिहान दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको र सबै यात्रीको मृत्यु भएको खबर पोखरा पुगेको टोलीले गराएको थियो । तीनमानेभञ्ज्याङका बासिन्दा आपसमा जम्मा भएर गणेशनारायण श्रेष्ठ परिवारले गरेको समाजसेवाको कामको चर्चा गरेर बसेका वडाध्यक्ष रानाले जानकारी दिनुभयो ।

शव काठमाण्डौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याउने जानकारी पाएपछि केही आफन्त र छिमेकी भने बिहानै काठमाण्डौं गएका छन् ।
तारा एयरको ९ एन एइटी जहाजमा उनीहरूसहित २२ जना थिए।

जहाज क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेलले उडाएका थिए। एयर होस्टेस कृष्मी थापा हुनु हुन्थ्यो भने १९ जना यात्रु थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology