गोरखा, १५ जेठ । मुस्ताङ्गमा हराइरहेको तारा एअरको जहाजमा गोरखाका ४ जना सवार रहेको पाइएको छ । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित अन्य देशका २ जना नागरिक सहित १९ जना यात्रु र तीन जना चालक रहेको जनाएको छ ।
शहिद लखन गाउँपालिका— ५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार सहित मुस्ताङ घुम्न गएको जानकारी आएको पारिवारिक स्रोतले जनाएको छ । जेठी छोरी रोजिना र कान्छी छोरी रविना सहित श्रीमती रश्मीलाई लिएर गणेश पोखरा घुम्न जानू भएको र त्यतैबाट मुस्ताङ गएको स्रोतले जानकारी दिएको छ ।
उहाँहरू मुस्ताङ जान लागेको आफन्तलाई बताउनु भएको रहेछ, दुबै छोरी केही साता अघिमात्रै अमेरिकाबाट नेपाल आएका हुन् ।
श्रेष्ठका आफन्तका अनुसार उनीहरु आज पोखराबाट मुस्ताङ्ग गएको जानकारी आएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो ।
मुस्ताङ्गका प्रजिअ नेत्रप्रसाद शर्माले हराइरहेको जहाजमा यात्रा गरिरहेकाहरूको नामावली प्राप्त भए पनि ठेगाना यकिन गर्न बाकी रहेको बताउनुभयो ।
पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।