गोरखा, २७ वैशाख । जिल्लको वारपाक सुलिकोट गाँउपालिकाका शिक्षकहरुलाई बाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ ।
जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले गाउँपालिकामा कार्यरत १२ जना शिक्षकलाई बाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम प्रदान गरिएको हो । यही वैशाख २२ गतेदेखी सुरु भएको कार्यक्रम २५ गते एक कार्यक्रम गरी समापन गरिएको हो । तीन दिनसम्म चलेको तालिमलाई श्रोत व्यक्ति दुर्गाप्रसाद पाण्डे र सोनी तामाङले सहजीकरण गर्नु भएको थियो ।
तालिममा शैलपुत्री माध्यमिक विद्यालय, थलीवारी आधारभुत विद्यालय, वागेश्वरी आधारभूत विद्यालय र मण्डली आधारभूत विद्यालयका शिक्षकहरुको सहभागी रहेको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिनु भयो ।
तालिममा प्रभावकारी बाल केन्द्रित शिक्षण विधिहरु, प्रभावकारी शिक्षण विधिहरु, रचनात्मक सिकाई, गणित विषय पढाउन, प्रस्तुतीकरण सीप, परिचय कला, शिक्षण सामग्रीको निर्माण तथा मुल्याङ्कनका बारेमा अभिमुखीकरण गराएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाईको प्रमुख विष्णुप्रसाद भट्टराईले भुकम्पपछि गोरखाको विद्यालय भवन निर्माण अत्यन्तै राम्रो भएता पनि शिक्षण सिकाई सम्वन्धी गतिविधि नहुँदा शिक्षाको गुणस्तरको विकास नभएको अवस्थामा यस्तो खालको तालिमले ठूलो मद्धत मिल्ने बताउनु भयो ।