गोरखा, २५ वैशाख । गोरखाका महिलाहरुलाई आत्मनिर्भर बनाउने डेढ महिने फेसन डिजाईनर तालिम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा चैत्र ९ गतेबाट सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो । तालिममा नगरपालिका भित्रका २७ जना महिलाको सहभागिता रहेको थियो ।
प्रमुख अथिति एवं गोरखा नगरपालिकाका कार्यवाहक मेयर बिनाकुमारी श्रेष्ठले समापन कार्यक्रममा सम्बोधन गर्दै महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिम संचालन गरिएको बताउनु भयो ।
डेढ महिनासम्म संचालनमा रहेको तालिममा महिलासँग सम्बन्धित विभिन्न तरिकाका फेसन डिजाईनर सिप सिकाइएको गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठले जानकारी दिनु भयो ।
फेसन डिजाइन, सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न तालिम संचालन गरिएको उहाँको भनाई छ । सहभागीहरुलाई तालिममा मुख्य प्रशिक्षक मृदुला शर्मा र सहायक प्रशिक्षक सुष्मा थापाले प्रशिक्षण गराएका थिए ।
गोरखा उद्योण वाणिज्य संघ, महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, महिला उद्यमी विकास समितिका संस्थापक अध्यक्ष देवु मास्के, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, प्रशिक्षक मृदुला शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो ।