गोरखा, १५ वैशाख।गोरखा अस्पतालमा नियमीत शल्यक्रिया सेवा सुरु भएको छ । गोरखाका नागरिक समाजका प्रतिनिधि र पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै स्तरीय अपरेशन थिएटर, दक्ष सर्जन र एनेस्थेसियोलोजिस्टको जनशक्तिबाट हाइड्रोसिल, हर्निया, एपेण्डिक्स, ट्युमर लगायतको शल्यक्रिया सेवा शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले गर्भवती महिलाको अपरेशन गरेर बच्चा निकाल्ने सेवा शुरु गरिएको साथै पित्तथैली र पाठेघरको शल्यक्रिया सेवा पनि शुरु गर्ने तयारी भैरहेको जानकारी दिनु भयो । रक्त सञ्चार केन्द्र नहुँदा जिल्लाका शल्यक्रिया लगायत डाइलसिस सेवाहरुमा समेत प्रभाव परेको मेसु श्रेष्ठले जानकारी दिनु भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गोरखा अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउने गरि त्रिपक्षीय सम्झौता गरेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भएको छ । प्रतिष्ठानले स्पतालमा उपलब्ध नभएको विशेषज्ञ सेवा नियमित रुपमा उपलब्ध गराउनका लागि जनशक्ति पठाएको हो ।
अहिले गोरखा अस्पतालमा प्रशुती तथा स्त्रीरोग विशेषज्ञ तीनजना, फिजिसियन एकजना, सर्जन दुईजना, बालरोग विशेषज्ञ एकजना, मानसिक रोग विशेषज्ञ एकजना, एमडिजिपी एकजना र एकजना एनेस्थेसियोलोजिस्टले सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिकी सदस्य पुष्पा श्रेष्ठले रेडक्रस जिल्ला शाखाको समन्वयमा ब्लड बैङ्क सञ्चालनको तयारी भैरहेको जानकारी दिनुभयो । नागरिक साझा सवालका जिल्ला संयोजक स्थानेश्वर दुवाडीले सेवा बिस्तारसँगै त्यसको निरन्तरतामा ख्याल गर्न आग्रह पनि गर्नुभएको छ ।