गोरखा, ४ बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ स्थित धावाको माकुरी चौतारामा सामुदायिक स्वास्थ्य इकाई स्थापनमा भएको छ । वडा भित्रका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहज पहुच पु¥याउन वडा कार्यालयको पहलमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको वडाध्यक्ष मदन शाक्यले जानकारी दिनुभयो ।
इकाईमा ३ जना स्वास्थ्यकर्मीहरुको व्यवस्था रहेको उहाँले बताउनुभयो । माकुरी चौतारमा स्वास्थ्य इकाई स्थापना भएसंगै करिब १ घण्टा लगायर सामान्य स्वास्थ्य उपचारका लागि धाउनु पर्ने त्यस क्षेत्रका नागरिकहरुलाई सुबिधा वडाध्यक्ष शाक्यको भनाई छ ।
‘लामो पहल र प्रयासपछि माकुरी चौतारामा स्वास्थ्य इकाई स्थापना गर्न सफल भएका छौ, उहाँले भन्नुभयो, अब यस क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य उपचारका लागि टाढा धाउनुपर्ने अबस्थाको अन्त्य भएको छ ।’ स्वास्थ्य इकाईबाट आजदेखि नै स्वास्थ्य सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।