धनबहादुर तामाङ
गोरखा, ३० चैत । गोरखामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बुधबार साँझ एक्कासी ठूलो हावा हुरीसंगै परेको चट्याङ लागेर दुई पुरुष घाइते भएका हुन् । घाइते हुनेहरुमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मीका करिब १७ बर्षका कैलाश भण्डारी र उदयपुर जिल्ला बेलटार नगरपालिका ४, घर भएका ४८ बर्षका पदम भुजेल रहेको स्थानीयबासी जमालुदिन मियाँले जानकारी दिनुभयो ।
भण्डारीलाई बारीबाट घाँस बोकेर गोठ राख्दै राखेर फर्कदा आँगन नजिकै एक्कासी चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका भण्डारी तत्काल स्थानीयबासीले उद्धार गरेर आपँपिपल अस्पतालमा उपचारका लागी पठाएको अस्पतालले थप उपचारका लागि भरतपुर पठाएको जनाएको छ । उहाँको अहिलेसम्म होस खुल्न सकेको छैन ।
हर्मी ज्याला मजदुरी गरेर बस्दै आएका भुजेललाई स्थानीय मकुन डाँडामा घरमा बसी रहेका बेला चट्याङ लागेर घाइते हुनुभएको हो । भुजेल स्थानीय रामबहादुर बानिँयाको घरमा बस्दै आउनु भएको थियो । घाइते भुजेलको आपँपिपल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । बानियाँको घरमा रहेको कुकुर समेत चट्याङ लागेर मरेको छ ।