गोरखा, २९ चैत । महिलालाई स्वारोजगार बनाई आर्थिक रुपमा सहयोग पु¥याउन दिएको एक महिने ढाका बुन्ने एड्भान्स तालिम सम्पन्न भएको छ । उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत गोरखकाली हस्तकला उद्योग गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सोमबार तालिम सम्पन्न भएको हो ।
फागुन २३ गतेबाट सुरु भएको तालिम सोमबार चैत २८ गते सम्पन्न भएको तालिम संचालन गरिएको संस्थाका सचिव सिर्जना पाण्डेले बताउनु भयो । नगरपालिकाको करिब दुई लाख बजेटबाट संचालन गरिएको एक महिने तालिमको अवधिमा ढाका थान कपडा बुन्ने, साडी र सल बुन्ने तालिम दिइएको सचिव पाण्डेले जानकारी दिनु भयो। १० जनाको सहभागिता रहेको उक्त तालिममा महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाई रोजगारिको अवसर सिर्जना गर्न तालिम संचालन गरिएको उहाँको भनाई छ। सहभागीहरुले इच्छा जनाएमा सोहि हस्तकला उद्योगमै रोजगारी समेत दिइने उहाँले जनाएको छ ।
संस्थाका अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिका उपप्रमुख वीनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष कृष्णबहादुर केसी, नगरपालिका कार्यपालिका सदस्य सावित्रा थापा पुलमी, नगरपालिकाकी प्रशासन शाखा अधिकृत शोभा दवाडी, प्रशिक्षार्थी रुकु थापा मगर लगायतले मन्तव्य राख्नु भएको थियो ।