गोरखा ११, चैत । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोली (शनिबार) गोरखा आउनुहुने भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री दाहाल गोरखा आउन लाग्नु भएको नेकपा माओबादी केन्द्र गोरखाका इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभयो ।
उहाँले बिहान करिब साढे ११ बजे हेलिकप्टरबाट बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोट आइपुग्ने कार्यक्रम रहेको उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले जिल्ला आए लगत्तै ताकुकोटमा नै जिल्ला स्थित कार्यालय प्रमुखहरुसंग भेटघाट गरी जिल्लाको अबस्थाको बारेमा जानकारी लिने कार्यक्रम रहेको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भोली नै सहिदहरुको शालिक अनाबरण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिनुभयो ।
ताकुकोट स्थित सूर्य ज्वोती माध्यामिक बिधालयमा तत्कालिन बिधालयका प्रधानध्यापक गुणनिधि देवकोटा तथा तत्कालिन शिक्षक आसकाजी श्रेष्ठको नवनिर्मित शालिक अनारवण गर्ने कार्यक्रम रहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड भोली नै काठमाण्डौ फर्कने कार्यक्रम रहेको उहाँले बताउनुभयो । नवनिर्मित गाउँपालिकाको भवनको शिलन्यास समेत अध्यक्ष प्रचण्डले नै गर्नुभएको थियो ।