बिमल श्रेष्ठ
गोरखा, ७ चैत : गण्डकी प्रदेश सरकारको ‘एक पालिका एक पर्यटकिय गन्तव्य’ कार्यक्रम अन्र्तगत गोरखाको शहिद लखन गाउँपालिकामा ५१ लाख रुपैया भन्दा बढीको लागतमा सुन्दर भ्यु टावर निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार आर्थिक सहयोग र स्थानीयबासी समेतको जनश्रमदानबाट भ्यू टावर निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।
‘प्रदेश सरकारबाट कुल बिनियोजित ४३ लाख ५४ हजार २८७ रुपैया अनुदान उपलब्ध गराएको थियो, उहाँले भन्नुभयो, त्यस बाहेक स्थानीय उपभोक्ता समितिबाट समेत झण्डै ८ लाख रुपैया बराबरको जनश्रमदान भएको छ ।’ धार्मिक पर्यटकको अत्याधिक सम्भावना रहेको शहिद लखन गाउँपालिका स्थित बक्रेश्वरी थान डाँडामा निर्माण गरिएको उक्त भ्यू टावरले त्यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने लक्ष्य गाउँपालिकाको रहेको उहाँको भनाई छ ।
‘बक्रेश्वरी मन्दिरमा बोली नफुटेका वा बोली स्पस्ट नभएका बालबालिकाहरुले भाकल गरी पुजाआजा गरेमा बोली फुट्छ वा स्पस्ट समेत हुन्छ भन्ने धार्मिक बिश्वास रहदै आएको छ, उहाँले भन्नुभयो, दृष्यावलोकनका हिसाबले पनि बक्रेश्वरी डाँडा अत्यन्त मनमोहक रहेकाले यसलाई गाउँपालिकाले पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न चाहेको हो ।’


गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका हरेक पालिकामा एउटा पर्यटकिय गन्तव्यको बिकास गर्ने योजना अन्र्तगत शहिद लखन गाउँपालिकाले धार्मिक दृष्टिकोणमा समेत महत्वपूर्ण आस्थाको केन्द्र मानिएको बक्रेश्वरी थान डाँडामा धार्मिक पर्यटक समेतलाई भित्र्याउने लक्ष्य सहित आर्कषक भ्यू टावर निर्माण गरेको उहाँको भनाई छ । बि.स २०७७ जेठ १२ गते निर्माण सम्झौता भएको उक्त भ्यू टावर गएको असारमा निर्माण सम्पन्न भएको थियो ।
सिद्द लखन भ्यू टावर स्थल ऐतिहासिक हिसावले समेत गुरु गोरखनाथबाट लखन थापाले सिद्धता प्राप्त गरेको ठाउँ भएकाले त्यस ठाउँको बिशेष महत्व रहेको पाइन्छ । नवनिर्मित भ्यू टावरबाट हिमालका सुन्दर दृष्यावलोकनका साथै सूर्यदय र सूर्यअस्त समेतलाई नजिकबाट नियाल्न पाउनेछन् । नवनिर्मित भ्यू टावरको गण्डकी प्रदेश सभाका सांसद लेखबहादुर थापाले सोमबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापामगर सहित वडाध्यक्षहरु, नेकपा माओबादी केन्द्रका कृष्ण श्रेष्ठ नेपाली काग्रेसका गाउँपार्टी सचिव चेतबहादुर थापा मगर, जसपाका दिनेश जोसी लगायतले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । सिद्द लखन भ्यू टावर निर्माण समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम समितिका सचिव दिनार श्रेष्ठको संचालन गर्नु भएको थियो भने कार्यक्रममा टुकुमाया क्षेत्रीको स्वागत मन्तव्य गर्नुभएको थियो ।