गोरखा, १ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा जिल्लामा कार्यरत वडा सचिव सहित ४ जना बिरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । जिल्लाको अजिरकोट गाउँपालिका वडा ३ हंसपुर र वडा नम्बर ५ मुच्चोकका वडा सचिव दिपकबहादुर दर्जी सहित जनस्वास्थ्य अधिकृत सुरेश दवाडी, साविक मुच्चोक गा.वि.सका अहेब चन्द्रकान्त सुवेदी र कार्यालय सहयोगी बिशाल बि.क बिरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।
वडा सचिव दर्जीले साविक हंसपुर र मुच्चोक गा.विसमा गा.विस सचिवको जिम्मेवारीमा रहेका बेला आर्थिक बर्ष २०७३\०७४ को सामाजिक सुरक्षा भत्ता बापतको ६० लाख, ९७ हजार ६०० रुपैया रकम निकासा लिएर बितरण नगरेको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ । सचिव दर्जीले हंसपुरको रकम आफु सहित तत्कालिन हेल्थ असिस्टेण्ट (हाल जनस्वास्थ्य अधिकृत) दवाडीको नाममा र मुच्चोकको आफु सहित मुच्चोकका हेल्थ असिस्टेण्ट चन्द्रकान्त सुवेदीको नाममा खाता सञ्चालन गरी रकम हिनामिना गरेको पाइएको हो ।
अख्तियारका प्रवक्ता भण्डारीका अनुसार सचिव दर्जीले दुवै वडाको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता तत्कालिन जिल्ला बिकास समितिबाट चेकबाट निकासा लिएको पाइएको हो । अख्तियारले दर्जीलाई उक्त कार्यका लागि सहयोग गर्ने तत्कालिन हंसपुर गा.वि.सका कार्यालय साहयक सचिव बिशाल बि.क समेतको मिलोमतो रहेको पाइएको प्रवक्ता भण्डारीले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताको रकम निकाली गरी हिनामिना गरेर पेश्की फछ्यौट तथा लेखपरीक्षण समेत नगरेको पाइएको अख्तियारको भनाई छ ।
दुवाडी र सचिव दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नम्बर ३ को सामाजिक सुरक्षा भत्ता बापतको २७ लाख २३ हजार २ सय रुपैया र हेल्थ असिस्टेण्ट चन्द्रकान्त सुबेदी र दर्जीको संयुक्त हस्ताक्षरमा वडा नम्बर ५ हसंपुरको सामाजिक सुरक्षा भत्ता वापतको ३३ लाख ७४ हजार ४ सयको भरपाई पेश गरी फछ्यौट पनि नगरेको अख्तियारले जनाएको छ ।
अख्तियारले सरकारी रकम हिनामिना गरेका पाइएपछि सचिव दर्जी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले ६० लाख ९७ हजार ६ सय रुपैया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले अनुसार ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन मागदाबी गरेको जनाएको छ ।
त्यस्तै दर्जी र दवाडीको संयुक्त चेकबाट रकम निकाली कार्यालय साहायक बि.क खातामा जम्मा गरी २७ लाख २३ हजार २ सय हिनामिना गरेकाले दवाडी र वि.कको हकमा जनही २७ लाख २३ हजार २ सय बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरी सजाय गर्न माग गरेको छ । त्यस्तै प्रतिवादी दिपक बहादुर दर्जीसँग संयुक्त हस्ताक्षर गर्ने आरोपित चन्द्रकान्त सुबेदीको हकमा भने ३३ लाख ७४ हजार ४ सय बिगो कायम गरी सजाय माग गरिएको अख्तियारका प्रवक्ता भण्डारीले बताउनुभयो ।
ऐनको दफा १७ बमोजिम प्रतिवादीहरु दर्जी, दवाडी, सुवेदी र बि.क समेतले हानीनोक्सानी गरेकाले बिगो निजहरुबाट असुल पर गर्न समेत माग दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।